हिमपात हुने क्षेत्रमा भ्रमण नगर्न आग्रह
१२ कात्तिक, काठमाडौं । अरब सागरमा देखा
परेको विनाशकारी समुद्री तुफान ‘नीलोफर’को असरबारे मंगलबार प्रधानमन्त्री
कार्यालय सिंहदरबार छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको
कार्यालयका सचिव शान्तराज सुवेदीले नीलोफरले नेपालमा पार्न सक्ने
प्रभावबारे मौसम विज्ञान विभागका महानिर्देशकलाई बोलाएर छलफल गरेका छन् ।
छलफलपछि जारी प्रेस वक्तव्य अनुसार
तुफानको असर देखिने दिनमा हिमपात हुने सम्भावित क्षेत्रमा नजान पर्यटक र
पथप्रदर्शकहरुलाई स्थानीय प्रशासनमार्फत सूचित गर्ने निर्णय भएको छ ।
त्यसैगरी सञ्चार माध्यममार्फत् तुफानको खतराबारे सर्वसाधारणलाई सुसूचित गराउने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नेपालको मौसम विज्ञान विभागले मौसमको
अनुमान गर्न नसक्ने अवस्थामा छिमेकी देशको सहयोगमा सूचना लिने निर्णयसमेत
भएको विज्ञप्तिमा उल्लेख छ । जोखिमको सूचना दैनिक रुपमा सम्प्रेषण गर्न
प्रधानमन्त्री कार्यालयले मौसम विज्ञान विभागसँग आग्रह गरेको छ ।
