काठमाडौं, कात्तिक ११– दक्षिण एसियाली
क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन नजिकिएसँगै काठमाडौंमा
सफासुग्घर र रंगरोगनको काम तीव्र रुपमा भैरहेको छ । यही क्रममा माइतीघर
मण्डलालाई थप आकर्षक बनाउन दिनरात काम हुँदैछ ।
‘३० प्रतिशतभन्दा बढी काम सकियो, अझै धेरै
काम गर्न बाँकी भएकाले तीव्र रुपमा तयारी भैरहेको छ’ काठमाडौं
महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले उज्यालो अनलाइनलाई
जानकारी दिनुभयो । सन् २००१ मा सार्क शिखर सम्मेलन भएको बेला बनाइएको
मण्डलालाई पुरानै स्वरुपमा फर्काउने गरी रंगरोगनको काम भैरहेको उहाँले
बताउनुभयो ।
‘पौराणिक कला झल्काउने मण्डलालाई त्यही
स्वरुपमा फर्काउन काम भैरहेको हो’ श्रेष्ठले बताउनुभयो । यसअघि धर्ना,
प्रदर्शन हुँदा प्रदर्शनकारी र बटुवाले जथाभावी टेक्दा मण्डलाको स्वरुप
बिग्रिएको थियो । अहिले त्यहाँ मान्छे हिँडडूल गर्न नपाउनेगरी छेउछाउमा
तारबार गरिएको छ ।
मण्डलामा रंगरोगनको काम सकिएलगत्तै आकर्षक
घडी राख्ने तयारी छ । ‘बिभिन्न संघसंस्थाको सहयोगमा छेउमा घण्टाघर आकारको
सानो र चिटिक्क घडी राख्ने योजना छ’ श्रेष्ठले भन्नुभयो ।
घडीले मण्डलाको आकर्षण झनै बढाउने
महानगरपालिकाको विश्वास छ । मण्डला आसपासको चौरमा पनि फूल विरुवा रोपेर थप
आकर्षक बनाउने तयारी भैरहेको छ ।



